हाम्रोबारे


माछापुच्छ«े, अन्नपूर्ण हिमालयको काखमा विराजमान् हुनुभएकी विन्ध्यवासिनी माता सुन्दर नगरी पोखराको शीर्ष भागमा अवस्थित नेपालका प्रमुख शक्तिपीठहरुमध्ये प्रमुख मानिन्छ । पोखराको भूमिमा करिब २५० वर्ष भन्दा लामो इतिहास बोकेको पौराणिक देवी विन्ध्यवासिनी यस क्षेत्रकै अधिष्ठात्री देवी हुन् भने कैयौं थर परिवारकी कुलदेवी पनि मानिन्छिन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तीर्थयात्री र पर्यटकको प्रम्ख गन्तव्य स्थल तथा दर्शनीय देवीको रुपमा प्रख्यात छिन् । विन्ध्य र वासिनी दुई शब्दको संयोगबाट नै विन्ध्यवासिनी बनेको हो । विन्ध्यको अर्थ “विन्ध्याचल” र वासिनीको अर्थ “निवास” गर्ने हो अर्थात् विन्ध्याचल पर्वतमा निवास गर्ने भएकोले विन्ध्यवासिनी भनिएको हो । मित्रराष्ट्र भारतको उत्तर प्रदेश राज्यको मिर्जापुर जिल्लामा विन्ध्याचल पर्दछ । त्यसै स्थानबाट ल्याइएकोले यिनको नाम विन्ध्यवासिनी रहन गयो । जगतको निर्माण एवम् सञ्चालन गर्ने विन्दु स्वरुप दिव्यशक्ति भएकी हुनाले यिनको नाम विन्दुवासिनी भएको हुन सक्दछ । विन्ध्यवासिनी माता भारतको विन्ध्याचल पर्वतबाट कहिले र कसरी यस स्थानमा आएर बसिन् भन्ने जानकारी लिन दुई किसिमका ऐतिहासिक विचारहरु प्रकाशनमा आएका छन् । पहिलो विचार अनुसार कास्कीका शाहवंशीय राजा सिद्धिनारायण शाह (विं.सं. १८००–१८४२) ले चारधाम यात्रामा गएको समयमा विन्ध्याचल स्थित देवीको महिमा, शक्ति, करुणा, कृपा आदिद्वारा प्रभावित भएर स्वप्न निर्देशन बमोजिम यहाँका जनताको कल्याणको लागि उक्त देवीको एउटा शक्ति स्वरुपको प्रतिमा लिएर आई पोखराको एउटा पहाडी थुम्कोमा विराजमान गराएका हुन् । जुन कुरा विन्ध्यवासिनी सम्बन्धी सम्पूर्ण लिखतहरुमा उल्लेख छ । दोस्रो मत अनुसार कास्कीका प्रथम शाहवंशीय राजा कुलमण्डन शाहका पालामा (१६ औं शताब्दी) यिनले दिल्लीबाट बादशाहको उपाधि पाएपछि आदर्श राज्य सञ्चालन गर्न दैवीशक्तिको समेत आवश्यकता महसुस गरी देवीकै प्रेरणाले विन्ध्याचलबाट देवीको प्रतीमा ल्याई पोखराको यसै स्थानमा स्थापना गरेका हुन् । यस मतको पक्षधर इतिहासविद् प्रा.डा. डिलबहादुर क्षेत्री लगायतका विद्वान्हरुको खोजी र दाबी बमोजिम विन्ध्यवासिनी माताको स्थापना कुलमण्डन शाहले गरका हुन् भन्ने भनाई छ । सिद्धिनारायण शाहले त यसको पूजाअर्चना, गठी आदिको व्यवस्था मात्र गरेका हुन् भन्ने भनाई छ । विन्ध्यवासिनी माता पौराणिक देवी हुन् । किनकी यिनको उल्लेख पद्मपुराण मार्कण्डेय पुराण, देवीभागवत, महाभारत, रामायण, श्रीमद्भागवत आदिमा छ । यी भगवती श्रीमद्भागवत पुराण अनुसार भगवान् श्रीकृष्णकी बहिनी हुन् । जगतमा फैलिँदै गएको आसुरी शक्तिलाई नियन्त्रण गरी अधर्मको नाश गरेर धर्मको स्थापना गर्न गोलोकबासी श्रीकृष्णले आफ्नो शक्ति महामायासँग तिमी नन्द र यशोदाका गर्भबाट पृथ्वीमा जन्म लेऊ म वासुदेव र देवकीका कोखबाट जन्म लिनेछु । सोही अनुसार श्रीकृष्ण वासुदेव मथुराको झ्यालखानामा पैदा हुनुभयो भने महामाया यशोदाका घरमा गोकुलमा जन्म लिनुभयो । कंशले श्रीकृष्णलाई मार्दछन् भन्ने डरले कृष्ण कै प्रेरणा बमोजिम वासुदेवले नवजात शिशु कृष्णलाई रातारात नन्द कहाँ पु¥याई त्यहाँबाट नन्दकी नवजात कन्या लिएर फर्के । शिशु साटे । पुरुष सन्तान मात्र मार्ने कंशको योजना थियो तर उसले देवकीको कोखबाट खोसेर ढुङ्गामा पछारी मार्न खोजेको थियो । ती कन्या कंशको हातबाट फुत्किएर आकाशमा गई दुष्ट कंश तलाई मार्ने बच्चा गोकुलमा जन्म लिइसकेको छ भनी आफ्नो अष्टभुजासहितको दिव्य स्वरुप देखाउँदै भनिन्– “कंश, मलाई मार्न तैँले व्यर्थ प्रयत्न गरिस्, तँलाई मार्ने काल जन्म लिइसकेको छ” भनी ती देवी विन्ध्याचल पर्वतमा गई उनकै शक्तिका रुपमा संसारका विभिन्न स्थानमा रही दुर्गा, विजया, भद्रकाली, वैष्णवी, चण्डिका, कृष्णा, माधवी, कन्या, माया, शारदा, नारायणी आदि नामले पुकारिन्छ । यसै कुरा मार्कण्डेय पुराण अन्तर्गतको सप्तशती ११÷४१–४२ मा स्पष्ट उल्लेख गरिएको छ । जगदम्बा भगवती नन्दगोपका घरमा यशोदाका गर्भबाट जन्म लिई शुम्भ, निशुम्भ, चण्ड र मुण्ड नामका महावली दैत्यलाई मारिदिनु भयो । जुन कुरा दुर्गा सप्तशती चण्डीमा उल्लेख छ । विन्ध्यवासिनी भगवती कृष्णा भगिनी हुन् कृष्णसँगै फरक–फरक रुपमा असुरहरुको अत्याचार र दमनलाई विनाश गर्न यस धर्तीमा जन्म लिएकी हुन् । महाभारत, पद्मपुराण, देवीभागवतमा समेत विन्ध्यवासिनी भगवतीको महिमा उल्लेख छ । विन्ध्यवासिनी भगवतीलाई परम् शक्तिस्वरुपा, सिद्धिदातृ, ज्ञानदाता, कल्याणकारिणी, वरदायिनी देवीका रुपमा लिइएको छ । यिनको रुप अनन्त छन्, लक्ष्मी शक्ति, मातृशक्ति, सरस्वती आदि रुप भएकी विन्ध्यवासिनी जगतकी आमा हुन् । जगतमा निरिह प्राणीहरुमाथि भएको अत्याचारलाई नियन्त्रण गर्न विभिन्न रुप लिएर दानवहरुलाई वध गरेकी थिइन् । यिनै भगवतीले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको रुपमा प्रकट भई दुष्ट दानवहरुको संहार गरी जगतमा शान्ति कायम गर्नुभयो, धर्मको रक्षा र अधर्मको नाश भयो ।

विन्ध्यवासिनी मन्दिरको स्वरुप

विन्ध्यवासिनी मन्दिर स्थापनाका प्रामाणिक आधारहरु


ईतिहास

नेपाल देश, गण्डकी प्रदेश वा प्रदेश नं ४ आफैमा एउटा आध्यात्मिक, ऐतिहासिकक, धार्मिक सांस्कृतिक एवं प्राकृतिक छटाले ओतप्रोत भएको प्रदेश हो । सेती गण्डकी, पवित्र धाम देवघाट, गजेन्द्रमोक्ष धाम, मौलाकालिका, गोरखकालिका, विन्ध्यवासिनी, गलेश्वर धाम, मुक्तिनाथ, कालीगण्डकी, व्यास, आलमदेवी, दामोदर कुण्ड, चैत्य, बुद्ध विहार, गुम्बा, स्तुपा, तालबाराही, भद्रकाली, जाल्पादेवी, बाग्लुङ्कालिका लगायतका मठमन्दिर यसैमा पर्दछन् । यस मध्ये विन्ध्यवासिनी प्रमुख शक्तिपीठ मानिन्छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रको इतिहासलाई हेर्नु पर्दा यो एउटा सानो विन्दुमा चौघेरो पर्खाल भित्र घेरिएर रहेको थियो । कास्कीका सिद्धिनारायण शाहले विं.सं १८४५ मा भारतको विन्ध्याचल पर्वतबाट विन्ध्यवासिनीको प्रतिमूर्ति ल्याएर यसै विन्दुमा बास बस्ने क्रममा विसाएपछि भोलिपल्ट पूजा÷आराधना गरी मूर्ति लैजाने क्रममा लान नसकेको कारण मूर्तिलाई व्यवस्थित तरिकाले राख्न मन्दिरको निर्माण भएको हो भन्ने ऐतिहासिक जनश्रुति रहेको छ । विन्दुमा अवस्थित माता भगवतीलाई विन्दुवासिनी भनेर पुकारीन थालियो । पछि कृष्णा भगिनी भएकी र विन्ध्याचलमा निवास गरी उनैको मूर्ति स्वरुप ल्याइएकोले विन्ध्यवासिनी नामाकरण हुन गयो भन्ने अग्रजहरुको भनाई रहेको छ । शुरुमा यस विन्दुमा माता भगवतीको मात्र मन्दिर रहेकोले यसको निर्माण लगत्तै श्री गणेशजीको मन्दिर निर्माण हुन गयो । हाम्रो शास्त्रीय पद्धति र नियम अनुसार देवी देवताको मन्दिर भएको स्थानमा श्री गणेश भगवान्को मन्दिर आवश्यक छ । हिन्दु धर्ममा आधारित विवा, व्रतबन्ध, सप्ताह लगायतका अनुष्ठानहरु सम्पन्न गर्न सर्वप्रथम विघ्नवाधा नआओस् भनि विघ्नहर्ता गणेशको आह्वान गर्दै पूजा÷अर्चना गर्ने गरिन्छ । यस अर्थले पनि गणेश मन्दिरको आवश्यकता महशुस गरेर यसको निर्माण भएको हुन सक्छ ।