मन्दिरको ईतिहास

मन्दिरको ईतिहास

नेपाल देश, गण्डकी प्रदेश वा प्रदेश नं ४ आफैमा एउटा आध्यात्मिक, ऐतिहासिकक, धार्मिक सांस्कृतिक एवं प्राकृतिक छटाले ओतप्रोत भएको प्रदेश हो । सेती गण्डकी, पवित्र धाम देवघाट, गजेन्द्रमोक्ष धाम, मौलाकालिका, गोरखकालिका, विन्ध्यवासिनी, गलेश्वर धाम, मुक्तिनाथ, कालीगण्डकी, व्यास, आलमदेवी, दामोदर कुण्ड, चैत्य, बुद्ध विहार, गुम्बा, स्तुपा, तालबाराही, भद्रकाली, जाल्पादेवी, बाग्लुङ्कालिका लगायतका मठमन्दिर यसैमा पर्दछन् । यस मध्ये विन्ध्यवासिनी प्रमुख शक्तिपीठ मानिन्छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रको इतिहासलाई हेर्नु पर्दा यो एउटा सानो विन्दुमा चौघेरो पर्खाल भित्र घेरिएर रहेको थियो । कास्कीका सिद्धिनारायण शाहले विं.सं १८४५ मा भारतको विन्ध्याचल पर्वतबाट विन्ध्यवासिनीको प्रतिमूर्ति ल्याएर यसै विन्दुमा बास बस्ने क्रममा विसाएपछि भोलिपल्ट पूजा÷आराधना गरी मूर्ति लैजाने क्रममा लान नसकेको कारण मूर्तिलाई व्यवस्थित तरिकाले राख्न मन्दिरको निर्माण भएको हो भन्ने ऐतिहासिक जनश्रुति रहेको छ । विन्दुमा अवस्थित माता भगवतीलाई विन्दुवासिनी भनेर पुकारीन थालियो । पछि कृष्णा भगिनी भएकी र विन्ध्याचलमा निवास गरी उनैको मूर्ति स्वरुप ल्याइएकोले विन्ध्यवासिनी नामाकरण हुन गयो भन्ने अग्रजहरुको भनाई रहेको छ । शुरुमा यस विन्दुमा माता भगवतीको मात्र मन्दिर रहेकोले यसको निर्माण लगत्तै श्री गणेशजीको मन्दिर निर्माण हुन गयो । हाम्रो शास्त्रीय पद्धति र नियम अनुसार देवी देवताको मन्दिर भएको स्थानमा श्री गणेश भगवान्को मन्दिर आवश्यक छ । हिन्दु धर्ममा आधारित विवा, व्रतबन्ध, सप्ताह लगायतका अनुष्ठानहरु सम्पन्न गर्न सर्वप्रथम विघ्नवाधा नआओस् भनि विघ्नहर्ता गणेशको आह्वान गर्दै पूजा÷अर्चना गर्ने गरिन्छ । यस अर्थले पनि गणेश मन्दिरको आवश्यकता महशुस गरेर यसको निर्माण भएको हुन सक्छ ।